तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि व्यवस्थित बन्दै सीमावर्ती नाग्म बजार

जुम्ला  । तीन जिल्ला जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित, चिटिक्क एवं फराकिलो बनेको छ ।  


सडक अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कालिकोट, जुम्ला र मुगु जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित बनेको हो । 

साँघुरो सडक र सयौँ सवारीको चापले नाग्म बजार दुर्घटनाको उच्च जोखिममा थियो । कर्णाली राजमार्गको सडक अतिक्रमण गरी व्यापारीले व्यक्तिगत प्रयोजनका लागि भोग चलन गरिरहेका थिए । साँघुरो  सडक र बढ्दो बजारीकरणले नाग्मको सौन्दर्ययता पनि जोखिममा थियो । 

सडक डिभिजन जुम्लाले अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि अहिले नाग्म बजार कर्णाली राजमार्गमा रहेका दर्जनौँ बजार मध्यकै व्यवस्थित, सुन्दर र फराकिलो बनेको छ । राजमार्गको मापदण्ड अनुसार नाला छोडेर १४ मिटर चौडा सडक निर्माण भएको छ ।

सडक डिभिजन जुम्लाका इन्जिनियर राजु पौडेलले भन्नुभयो,“नाग्म बजार जस्तै राजमार्गको सबै क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाई व्यवस्थित बजार र फराकिलो सडक बनाउने योजना छ । अतिक्रमण हटाएसँगै नाग्मा बजारमा दुई लेनको सडक निर्माण गरी कालोपत्रे समेत भएको छ ।” 

बजार क्षेत्रको २५० मिटर सडक कालोपत्रे गरिएको छ । भने भ्याटसहित ७६ लाख ९५ हजार १ सय ५२ रुपैयाँ लगानीमा २५० मिटर कालोपत्रे, फुटपाथ, नाली निर्माण र सडक मार्किङसमेत गरिएको इन्जिनियर पौडेलले जानकारी दिनुभयो ।

व्यापारिक हिसाबले नाग्म बजार निकै व्यस्त र नागरिक, सवारीको भिड हुने भएकोले समय सापेक्ष स्तरबृद्धिको काम स्वागतयोग्य रहेको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो । 

उहाँका अनुसार नाग्म बजारको अतिक्रमण हटाउन सडक डिभिजन जुम्लाका निवर्तमान कार्यालय प्रमुख लीला बहादुर भण्डारीको महत्त्वपूर्ण योगदान रहेको छ । 

यद्यपि वर्तमान कार्यालय प्रमुख राजीव श्रेष्ठले सडक फराकिलो बनाई कालोपत्रे गरेकोमा धन्यवाद समेत दिनुभयो  ।

अतिक्रमण हटाउन छुट्टै बजेट अभाव 
जुम्लामा पहिलो चरणको सडक अतिक्रमण हटाउने काम सकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । 

पहिलो चरणमा कर्णाली राजमार्गको जुम्ला खण्डको तातोपानी र सदरमुकाम क्षेत्रमा अतिक्रमण हटाएको हो । 
जस अन्तर्गत सदरमुकाम क्षेत्रमा स्थानीयले अटेरी गरेपछि सडक डिभिजनले बल प्रयोग गरेर पक्की, कच्ची गरी २४ वटा संरचना भत्काइएको थियो । तर तातोपानी क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने सूचना जारी गर्दा स्थानीयले आफ हटाएको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । 

सडक अतिक्रमण गरी बनाइएका तातोपानीका करिब २८ वटा संरचना स्थानीय आफै हटाएका छन् ।

प्रमुख श्रेष्ठले भन्नुभयो,“अतिक्रमण हटाउन छुट्टै बजेट नहुँदा समस्या भएको छ । धेरै ठाउँको अतिक्रमण हटाउन बाँकी छ । तर बजेट छैन । संरचना भत्काउँदा इन्धन खर्च, किताकाँट गर्न नक्सा हेर्न नापीका कर्मचारीको खर्च व्यवस्थापन गर्न मुस्किल छ । कार्यालयको आन्तरिक खर्चले अतिक्रमण हटाउन सम्भव छैन ।”

दोस्रो चरणको अतिक्रमण हटाउने कार्य पनि चाडै सुरु हुने छ । समय सीमा दिएको समयभन्दा अघि पछिका कुनै पनि बहाना मान्य नमान्ने सडकको आफ्नो क्षेत्र बल प्रयोग गरेर भए पनि खाली गराइने प्रमुख श्रेष्ठको भनाई छ । 

अतिक्रमण हटाइएको क्षेत्रमा छेउमा स्टिलको क्रस ब्यारियर राखिने छ । एकतर्फी नाला तथा फुटपाथ निर्माण गरिने भएको छ । 

सडकलाई सुन्दर, फराकिलो बनाउन सक्ने सम्भावना भए पनि अतिक्रमण हटाउने बजेट नहुँदा समस्या छ । आन्तरिक खर्चले धान्ने अवस्था छैन । बजेट माग गरेका छौ । तातोपानी क्षेत्रलाई  पनि नाग्म बजार जस्तै चिटिक्क बनाइने योजना छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button