विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक काठमाडौँमा

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आइपुग्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ आज नेपाल आइपुग्नु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा.टेड्रोसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडा र परराष्ट्र मन्त्री नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ ।
उहाँले, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम छ ।
यस्तै, नेपालमा रहँदा डा.टेड्रोसले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।
भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।
उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्