तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

रुपन्देही । रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

भैरहवास्थित बाल मन्दिरमा स्थापना गरिएको कार्यालयको बिहीबार एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र मुख्य निर्वाचन अधिकृत धनसिंह महराले उद्घाटन गर्नुभयो ।

प्रजिअ तिवारीले निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रुपमा तालिमहरू सम्पन्न गरिसकेको र त्यो अनुसार सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको बताउनुभयो ।

सुरक्षाको व्यवस्थापन पूर्ण रुपमा सम्पन्न भइसकेको प्रजिअ तिवारीको भनाइ थियो । उहाँले नेपाल सरकार गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा तयार गरिसकेको र जिल्ला सुरक्षा समितिले पनि जिल्लाको एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचनमा आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आचारसंहिता पालना गरेर मात्रै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button