तपाईँ सुन्दै हुनुहुन्छः

९४ वर्षको उमेरमा जइसरालाई नागरिकता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१ की जइसरा गुरुङले ९४ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एक दिने घुम्ती सेवा शिविरबाट उनले नागरिकता प्राप्त गरेकी हुन् ।

’उमेर छउनजेल नागरिकता बनाउन कुनै चासो दिइन् र खाँचो पनि भएको थिएन’ नागरिकताको प्रमाणपत्र पाएपछि गुरुङले भनिन्े, ’परिवारले नागरिकता बनाउन पर्छभन्दा पनि वास्ता गरिन, अहिले श्रीमान् र छोरासमेत बितिसकेको अवस्थामा नाति–नातिनी बुहारीले नागरिकता बनाइदिए ।’

देवघाट गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले शनिबार घुम्ती शिविर सञ्चालन गरी गुरुङसहित २१२ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त वितरण गरेको छ । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको थियो । नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताउनुभयो । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुइपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button