पाल्पाका चुनढुङ्गा खानीहरूले मापदण्ड पालना गरेनन्

पाल्पा।जिल्लामा सञ्चालित चुनढुङ्गा खानीहरूले मापदण्ड पालना नगरेको पाइएको छ । चुनढुङ्गा खानीहरूको विषयमा उठेको विभिन्न सवालबारे अध्ययन गर्न बनेको समितिको प्रतिवेदनले खानीहरूले मापदण्ड पालना नगरेको जनाएको हो । खानीहरूको स्थलगत अध्ययनपछि अनुगमन समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उक्त कुरा जनाइएको छ ।
अनुगमनका क्रममा वन मन्त्रालय अन्तर्गत विभागसँग भएको सम्झौता अनुसार खानीहरूले शर्त पालना गरे नगरेको अध्ययन गरिएको थियो । स्थलगत अध्ययनपछि खानीहरूको विषयमा प्रतिवेदन तयार गरेर सार्वजनिक गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । जनचासो र जनसरोकारका विषयमा प्रशासन चुप लागेर बस्न नसक्ने भएकाले खानी क्षेत्रको स्थलगत अध्ययन गर्ने र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने कार्य भएको प्रजिअ पन्तले बताउनुभयो ।
अनुगमन टोलीले खानी उद्योगले लगाउनुपर्ने बिरुवा अधिकांश उद्योगले लगाउन नसकेको, रोपेका बिरुवा नबाचेको, वन क्षेत्रमा जथाभाबी खानीजन्य बस्तु डम्पिङ् गरेको जस्ता कमजोरी भेटाएको छ । यस्तै अनुमतिप्राप्त क्षेत्रफल भन्दा बढी वन क्षेत्रको भूभागमा उत्खनन् गरेको, उत्खनन् क्षेत्रमा सीमा स्तम्भहरू केहीले राखेको भएपनि पर्याप्त नभएको, खानीबाट निस्केका गग्रेन व्यवस्थापन नगरी नदी तथा खोला क्षेत्रमा फालेको पाइएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
अध्ययन टोलीले तिनाउको डोलोमाइड, सिद्धार्थ मिनिरल्स प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि, कन्चन क्वारिज प्रालि, सत्यवती प्रालि, माथागढीको पाल्पा सिमेन्ट प्रालि, अल्फा सिमेन्ट प्रालि र निस्दीको होङ्सी सिमेन्ट प्रालिले सञ्चालनमा ल्याएका खानी क्षेत्रमा स्थलगत अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका अधिकांश खानीहरूले इआइए गर्नुपर्नेमा आइइइ मात्रै गरेका कारण खानीबाट सिर्जित वातावरणीय प्रदूषण, प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक असरका बारेमा अध्ययन हुन नसकेको अनुगमन समितिले औँल्याएको छ । डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत संयोग बस्नेतले केही खानीहरूलाई वनसम्बन्धी मुद्दा चलाउनुपर्ने बताउनुभयो ।
खानी उद्योगले पहुँच मार्ग बनाउँदा स्वीकृत नलिई जथाभाबी उत्खनन् गरेर वन तथा वातावरण विनास गरेको अनुगमनका क्रममा भेटिएको समितिका संयोजक बस्नेतले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्