आर्थिक विकासमा अवरोध पुग्ने नीतिहरू परिमार्जन गरिने : मन्त्री शर्मा

वीरगंज । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासको लागि अवरोध पुग्ने नीति नियमहरू परिमार्जन गर्दै सरकार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलहरूसँग आज अर्थ मन्त्रालयमा भएको भेटघाट तथा छलफलको क्रममा मन्त्री शर्माले उद्योग व्यवसायको विकास बिना समग्र मुलुकको विकास हुन नसक्ने बताउनुभयो ।
उहाँले वीरगंज उद्योग वाणिज्य सङ्घबाट प्राप्त सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै नेपाल उदारवादी अर्थतन्त्र अवलम्बन गरेको र उद्योग व्यवसायको प्रवर्धनको लागि सरकार व्यवसायीसँग सहकार्य गरी अगाडी बढ्न चाहेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्दै कर, राजस्व, भन्सार लगायतको नीतिगत एवम् व्यवहारिक समस्याहरूलाई सहज बनाउन आफू तत्पर रहेको बताउनुभयो ।
उहाँले बाराको सिमरामा रहेको सेजमा उद्योग स्थापना गर्न व्यवसायिहरुलाई आग्रह गर्दै सेजमा स्थापित उद्योगहरूका लागि सरकारले लचिलो नीति अवलम्बन गर्ने बताउनुभयो ।
छलफलको क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले पुँजी लगानीमा आयकर छुट हुनुपर्ने, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुहरूको स्पष्ट सूची हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्नुपर्ने, फिर्ता पाउनुपर्ने मु.अ.करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने, नन फाइलरको समस्या समाधान गर्नुपर्ने, बिल बिजकलाई मान्यता दिनु पर्ने लगायतका सुझाव दिनुभयो ।
उहाँले आयातमा बैङ्कहरूले मार्जिन डिपोजिट बापत रकम रोक्का राख्ने वा कट्टा गर्ने परिपाटीलाई अन्त गरिनुपर्ने, दाल निर्यातमा कायम गरेको १ प्रतिशत भन्सार शुल्क हटाई विगतमा दिइँदै आएको ४ प्रतिशत इन्सेन्टिभ पुनः कायम गरिनुपर्ने, एकीकृत भन्सार चौकीको सफल सञ्चालनको लागि भौतिक पूर्वाधारहरू निर्माण तथा भन्सार चौकीभित्र क्वारेन्टाइनको स्थापना हुनुपर्ने लगायतका माग गर्नु भएको थियो ।
छलफलमा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्य समिति सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतका उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा काठमाडौँ गएको टोलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग समेत भेटघाट तथा छलफल गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्