कर्णालीमा विज्ञापन बजार बढाउन माग
सुर्खेत । कर्णालीका सञ्चार उद्यमीहरूले विशेष प्याकेजमै कर्णालीबाट सञ्चालित साना लगानीका सञ्चार गृहलाई लोक कल्याणकारी विज्ञापनको रकम बढाउनु पर्ने माग गरेका छन् ।
विज्ञापन बोर्डका अध्यक्षका लक्ष्मण हुमागाईँसँग आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका सञ्चार उद्यमी तथा पत्रकारहरूले गरेको अन्तरक्रियामा विज्ञापनको बजारलाई बढाउन सके मात्रै सञ्चार माध्यमहरूले निष्पक्ष रहेर काम गर्न सक्ने धारणा राख्नुभयो ।

उहाँहरूले कर्णालीबाट करोडौँको विज्ञापनको रकम राष्ट्रिय पत्रिकाका नाममा काठमाडौँ जाने गरेको भन्दै सरकारले केही निश्चित मापदण्ड बनाएर कर्णालीको विज्ञापनलाई कर्णालीमै सदुपयोग गर्ने वातावरण मिलाई दिन विज्ञापन बोर्डसँग आग्रह गर्नुभयो ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बोर्डले छिट्टै स्थानीय विज्ञापनलाई स्थानीय तहकै सञ्चार गृह मार्फत प्रकाशन तथा प्रसारण गर्नुपर्ने ऐन, नियम ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले सञ्चार गृह र विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने गरी बोर्ड नीतिगत रूपमै अघि बढेको बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख गोपाल थापा, सञ्चार उद्यमी दीपककुमार बुढा, ललित गाहा, गणेश कञ्चन भारती, खगेन्द्रप्रसाद अधिकारी लगायतले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्