तपाईँ सुन्दै हुनुहुन्छः

निजी हातहतियार बुझाउन झापा प्रशासनको आग्रह

झापा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिका नाममा रहेका निजी हातहतियार प्रशासनलाई बुझाइदिन आग्रह गरेको छ ।

निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरी जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सूचना जारी भएको मितिले १५ दिनभित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गर्दै उहाँले हातहतियार निर्वाचन सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button