तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा रात्रिकालीन भलिबल प्रतियोगिता सुरु

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरमा प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिता आइतबार रातिदेखि सुरु भएको छ । 

स्थानीय भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर उच्च माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

आइतबार राति भएको उद्घाटन खेलमा वडा नम्बर ५ र वडा नम्बर ४ विजयी भएको छ । पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १ लाई र दोस्रो खेलमा वडा नं ४ ले वडा नं २ लाई पराजित गरेको हो । ५ ले १ लाई २–१ सेटमा र ४ ले २ लाई सोझो सेटमा पराजित गरेको थियो । 

विजयी दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज राति वडा नं ९ र १० तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष बिर्जु सहनीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले गर्नुभएको थियो । 

उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो ।

विजेता टिमलाई नगद ३५ हजार, उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफीसहित पुरस्कृत गरिने आयोजक समितिका कोषाध्यक्ष रवि मुखियाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button