आवश्यकताका आधारमा गठबन्धन बन्छ : प्रवक्ता महत

सल्यान । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आवश्यकताका आधारमा गठबन्धन बनाएर निर्वाचनमा जाने बताउनुभएको छ ।
उहाँले जुन पार्टीसँग गठबन्धन गर्दा काँग्रेसको सिट सुनिश्चित हुन्छ सोहीसँग गठबन्धन गरेर जाने बताउनुभयो ।
आइतबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव सङ्कलन भइरहेको र ११ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो ।
“हरेक दलको लक्ष्य भनेको कसरी बढी सिट ल्याउन सकिन्छ भन्ने हुन्छ । त्यस अनुसार के गरेर जाँदा बढी सिट ल्याउन सकिन्छ । एकल जाँदा बढी सिट आउँछ की गठबन्धन गरेर जाँदा बढी आउँछ सोही अनुसार पार्टी अघि बढ्छ ।”, उहाँले भन्नुभयो । एकल निर्वाचनमा जाने विषयमा तत्काल केही भन्न नसकिने उहाँको भनाई छ ।
चैतभित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको टुङ्गो लाग्ने पनि उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन पार्टीको आन्तरिक चुनाव जस्तो नभएकाले सुझबुझका साथ लाग्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले नेपाली जनताले पाँच वर्षका लागि कम्युनिष्टलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिए तर तीन वर्ष पनि टिक्न नसकेको भन्नुहुँदै देश बनाउने र विकासको काम गर्नेभन्दा उनीहरू भ्रष्टाचारमा सीमित रहेको उहाँको भनाई छ ।
उहाँले अब देश बनाउने जिम्मेवारी काँग्रेसका काँधमा आएको बताउनुभयो । उहाँले आकाश पताल नै एउटै बनाउँछौँ जस्तो गरेर धेरै कुरा गर्ने तर काम नगर्ने परिपार्टीले देशले विकास गर्न नसकेको बताउनुभयो ।
सत्ता बाहिर हुँदा एउटा कुरा गर्ने सत्ताभित्र हुँदा अर्को कुरा पार्टी कांग्रेस नभएको भन्नुहुँदै प्रवक्ता महतले भन्नुभयो बाहिर राष्ट्रियताको ठुला नारा लगाउन लगाउने तर बोल्नुपर्ने ठाउँमा एक शब्द पनि चुइँक्क नबोल्ने आफ्नो पार्टी नभएको बताउनुभयो ।
एमसीसी विशुद्ध विकास निर्माणका लागि अनुमोदन भएको बताउनुहुँदै उहाँले उग्र राष्ट्रवादी बन्न जरुरी नरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्