सात महिनामा झन्डै ७ अर्बको फलफूल आयात
काठमाडौँ । नेपालको व्यापार घाटा चुलिँदै जाँदा चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्रै नेपालमा झन्डै ७ अर्ब रुपैयाँका विभिन्न जातका फलफूल आयात भएको छ ।
यस अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको छ । नेपालमा आयात हुने फलफूल मध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ ।
यस अवधिमा छिमेकी मुलुक चीनबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यको विभिन्न जातका स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
माघ मसान्तसम्म भारतबाट १ अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४ अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरका स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार ६ सय मूल्य बराबरको सुन्तलाको आयात भएको छ । सो अवधिमा भारत, साउथ अफ्रिका र टर्कीबाट १ करोड ४५ लाख ७० हजार ३ केजी सुन्तलाको आयात भएको हो ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरका ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ ।
यस अवधिमा चीन र भारतबाट अमिलो तथा अमिलो जन्य एवं विभिन्न थरीका फलफूल गरी झन्डै तीन अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्