तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको बिष्टपानीमा डीप बोरिङमार्फत पानी वितरण

पर्वत ।  पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ ।

डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न सुरु भैसकेको छ ।नाम विष्टपानी भएपनि यो गाउँमा पानीको चरम अभाव थियो । सामुन्द्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको बिष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाइपमा दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पानी पुग्छ । 

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उक्त आयोजनाको बुधवार उद्घाटन गर्नुभएको छ । पानीको धारा खोलेर नगरप्रमुख शर्माले योजनाको उद्घाटन गर्नुभयो । उहाँले सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयास पछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको बताउनुभयो । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको बताउँदै शर्माले अरू ठाउँमा पनि यस्तो आयोजना सुरु गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनता माझ गएको प्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउनका लागि धेरै प्रयासहरू भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमिनमुनि बाट पानी तान्ने कुरा नमुना काम रहेको चर्चा गर्नुभयो । उहाँले यो प्रयासका लागि उपभोक्ता समिति, स्थानीय राजनीतिक दल, समाजसेवीहरूलाई धन्यवाद दिनुभयो ।
नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा आउने समस्याका कारण आजित भएका बिष्टगाउँबासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताउनुभयो । शंकरपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी सङ्कलन गरेरसमेत पानीको गर्जो टार्ने चलन थियो । 

यो गाउँमा लमाएखोलाबाट पानी तानेर वितरण गर्ने वृहत् लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाहरूले भने शंकरपोखरी बासिले सन्तुष्टिको सास फेर्न थालेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button