पुरातात्त्विक एवम् पर्यटकीय महत्त्वको पुतली दरबार संरक्षणको अभावमा खण्डहरमा परिणत

सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिका –४ फलाबाङमा रहेको ऐतिहासिक पुरातात्त्विक र पर्यटकीय महत्त्वको पुतली दरबार संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ ।
बाइसे चौबिसे राज्यको समयमा बनेको दरबार संरक्षणको अभावमा भग्नावेशमा परिणत भएको हो । दरबारमा रहेका सम्पूर्ण समान हराएका छन् भने आकर्षक चित्र कुँदिएका झ्याल ढोका चोरी भएका छन् ।

दरबारको भग्नावेशसँगै फलाबाङ्गी राज्यको पनि इतिहास मेटिएको स्थानीयको भनाई छ । डेढ विघा क्षेत्रफलमा फैलिएको दरबार क्षेत्र अहिले उजाड मरुभूमिजस्तै बनेको छ । यो दरबार सल्यानी राजाले फलाबाङ्गी राजालाई पराजित गरेपछि बनाइएको इतिहास छ ।
बेलायती शैलीमा निर्मित गद्दी बैठक, कचहरी बैठक, पूजा कोठा छन् । दरबारको बटुक भैरव प्राङ्गणमा प्राचीन तथा ऐतिहासिक महत्त्वलाई परिभाषित गर्ने शिलालेख रहेको छ । दरबारको अस्तित्व नभए पनि दरबार छेउमा रहेको बटुक भैरव प्राङ्गणमा रहेको प्राचीन लिपिबद्ध शिलालेखले यो क्षेत्रको महत्त्वलाई परिभाषित गरेको देखिन्छ । लक्ष्मीनारायण शाहका जेठा छोरा शमशेर बहादुर शाहले १०६६ मा दरबार बनाउनुभएको थियो ।

१९५५ देखि निर्माण सुरु गरेको दरबार ११ वर्षमा सम्पन्न भएको थियो । दरबारमा ५५ कोठा र १ सय ८ झ्याल ढोका रहेका थिए ।
बाइसे चौबिसे राजाहरूको पालामा निर्माण भएका कोट, दरबार, किल्लाहरू अहिले राज्यबाट संरक्षण पाउन नसक्दा अस्तित्व नै मेटिन थालेको छ । बाइसे राज्यमा पर्ने सल्यानको इतिहास लामो छ ।
नेपाल एकीकरणको अभियानमा पृथ्वी नारायण शाहले पनि सल्यानलाई कब्जा गर्न सक्नुभएको थिएन । पछि पृथ्वीनारायण शाहले राजा कृष्ण शाहको छोरा युवराज रणभिम शाहलाई आफ्नो छोरी विलास कुमारीसँग वैवाहिक सम्बन्ध कायम गरी छिल्लाकोटदेखि दाङ तिरको केही मौजी छोरीलाई कुशविर्ता दान गर्नुभई सल्यानलाई नेपालमा मिलाउने कुटिल रणनीति बनाउनुभएको थियो ।
नेपाल एकीकरणको बेला वि.स. १८४३ मा दाङका राजा नवल सिंह थापाको लडाइमा मारिनुभएको थियो । उहाँको मृत्युपछि राजकुमार दिलेर सिंहले पुरा दाङको राज्य सञ्चालन गर्न सक्नुभएन। वि.स १८६५ मा सल्यान राज्य नेपालमा एकीकरण हुँदा दाङ पनि नेपालमा मिलेको थियो ।
वि.स १८९४ मा सल्यानी राजाको वंशज तेजबहादुर शाहलाई राजाको पद र पश्चिम दाङ र फलावाङको राज्य प्रदान गरियो । त्यसपछि पश्चिम दाङ र फलावाङ क्षेत्रको शासन फलावाङबाट चल्न थाल्यो । नेपाल भारत असमान सुगौली सन्धि हुनुपुर्व फलावाङ्गी राजाको प्रशासनिक क्षेत्र विशाल थियो ।

स्थानीयको मागअनुसार दरबार पुन निर्माणका लागि पुरातत्त्व विभागसम्म पुगे पनि व्यक्तिका नाममा जग्गा हुँदा समस्या भएको त्रिवेणी गाउँपालिका ४ का वडाध्यक्ष छविराज शर्माले बताउनुभयो । व्यक्तिमा रहेको जग्गा सरकारीकरण गर्न धेरै मेहेनत गर्दा पनि असफल भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “यदि जग्गा सरकारी भइदिएको भए दरबार पुननिर्माण गर्न डिपिआर गरेर हामी अघि बढी सक्थ्यो तर व्यक्तिको जग्गामा बजेट विनियोजन गर्न नमिल्ने हुँदा पुननिर्माण तथा भएका बाँकी संरचना संरक्षण गर्न पनि समस्या भएको छ ।”
व्यक्तिको नाममा रहेको जग्गा सरकारी बनाउन पहल भइरहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । तत्कालीन राजा शमशेर बहादुर शाहका सन्तानका नाममा जमिन भएको र उहाँहरू कहाँ छन् भनेर सम्पर्क हुन नसक्दा समस्या भएको उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्