सञ्चार क्षेत्रको विकास विना सङ्घीयताको विकास सम्भव छैन : मन्त्री साह

सप्तरी । मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सञ्चार क्षेत्रको विकास विना सङ्घीयताको विकास सम्भव नरहेको बताउनुभएको छ। आइतबार सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सुझाव सङ्कलन कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री साहले यस्तो बताउनु भएको हो।
मन्त्री साहले प्रेस स्वतन्त्रताको पूर्ण सम्मान र सङ्घीयता बलियो नभएसम्म सङ्घीयताको विकास सम्भव हुन नसक्ने बताउनुभयो। कार्यशाला गोष्ठीका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री साहले सङ्घीयतालाई बलियो बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनु भयो। नीति बनाएर राम्रो गर्नेलाई प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई कडाइका साथ निगरानी गर्ने मन्त्री साहले बताउनुभयो। पछाडि परेका जनतालाई कसरी अधिकार सम्पन्न बनाउने काममा हाम्रो मन्त्रालय अगाडी बढिरहेको बताउनु भयो। पत्रकारहरूमा भएको विकृतिलाई न्यूनीकरण गर्न पत्रकार आचार संहिता निर्माणका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्नु भयो।
यसैगरी आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवी कुमारी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण रहेको बताउनु भयो। जात, धर्मबाट जबसम्म पत्रकार माथि उठ्न सक्दैन तबसम्म सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान हुन नसक्ने बताउनुभयो । उहाँले मधेश प्रदेशको पत्रकारको हकहितका लागि बजेट खर्चिन प्रतिबद्धता जनाउनु भएको थियो।
कार्यक्रममा आम मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूका लागि एक लाख बरावरको स्वास्थ्य बिमा, दुर्घटना भएमा सात लाख सम्मको बिमा गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भयो। यति हुन सक्यो भने पत्रकारहरूका लागि ठूलो राहत मिल्ने उहाँले बताउनु भयो। आम मिडिया प्राधिकरणले मधेस प्रदेशका पत्रकारहरूका लागि प्रेस प्रतिनिधि परिचयपत्र वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साहले स्वच्छ निष्पक्ष पत्रकारिता आवश्यक रहेको बताउनु भयो।
यसैगरी कार्यक्रममा मधेश प्रदेश पत्रकार संघका अध्यक्ष राजेश कर्णले मधेस प्रदेश सरकारको ९० प्रतिशत विज्ञापन सङ्घीय मिडियामा आउँछ। जसले स्वरोजगार र श्रमजीवी पत्रकारहरू पीडित छन्। मधेस प्रदेशको विज्ञापन स्थानीय मिडियाले पाउनुपर्नेमा जोड दिनु भयो।








प्रतिक्रिया राख्नुहोस्