रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहुँचमा मात्र नभई नागरिकको रोजाइमा पर्ने गरी सेवा विस्तार गर्न रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
रेडियो नेपाल कर्मचारी सङ्घ र युएनआई नेपालद्वारा रेडियो नेपालमा आज आयोजित सार्वजनिक प्रसारण ऐन माथि कर्मचारीको चाँसो विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री कार्कीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरी सार्वजनिक प्रसारण सेवा संस्थामा रूपान्तरण गर्दा नागरिकलाई प्रभावकारी रुपमा सुसूचित गर्न सकिने बताउनुभयो ।
मन्त्री कार्कीले जनताको सर्वोच्च संस्था संसद् अवरुद्ध हुँदा महत्त्वपूर्ण विधेयक माथि छलफल हुन नसकेको भन्दै संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले संस्थामा काम गर्ने कर्मचारीहरूलाई उत्साह र समर्पणका साथ काम गर्ने परिस्थितिको निमार्ण नगरे सम्म लक्ष्य अनुसारको प्रगति नहुने भन्दै कर्मचारीको क्षमता अभिवृद्धि र वृत्ति विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले सार्वजनिक प्रसारण संस्था सरकार सँग पनि जोडिनुपर्ने भन्नुहुँदै के गर्ने भन्ने विषयमा स्पष्ट धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड्दिनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले अहिले पनि प्रसारण पहुँच र विषयगत विविधताका हिसाबले सार्वजनिक प्रसारण संस्थाले गर्ने काम गरिरहेको भन्दै सार्वजनिक प्रसारण संस्था नाफामुखी हुन नसक्ने भएकाले स्रोतको सुनिश्चितता स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले नेपाल लोकतान्त्रिक मुलुक भएकाले सबैको आवाजको प्रतिनिधित्व हुने गरी स्वतन्त्र सार्वजनिक प्रसारण संस्थाको विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले कर्मचारी सङ्गठनहरूले प्रतिक्रिया जनाउने मात्र नभई नतिजाउन्मूख काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेलले सार्वजनिक प्रसारण संस्थामा जाँदा कार्यरत कर्मचारीको अवकाशका विषयलाई पनि प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाका अध्यक्ष विप्रमणी आचार्य र नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाका अध्यक्ष दिपकजंग हमालले पनि राष्ट्रिय सभामा दर्ता भएको सार्वजनिक प्रसारण विधेयकका सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।
अन्तरक्रियामा रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्