सञ्चार सचिवद्वारा रेडियो नेपाल र नेपाल टेलिकमका टावरहरूको निरीक्षण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले रेडियो नेपाल र नेपाल टेलिकमको टावरहरूको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सचिव अर्यालले मकवानपुर जिल्ला थाहा नगरपालिका वार्ड नं. ४ को सिमभञ्ज्याङ्ग स्थित २ हजार ५६० मिटर उचाइमा रहेको रेडियो नेपालको एफ.एम. रिले स्टेशन र नेपाल टेलिकमको रिपिटर टावरको स्थलगत निरीक्षण गर्नुभएको हो ।
सञ्चार मन्त्रालय अन्तर्गतका निकायहरू बीच दूरसञ्चार पूर्वाधार निर्माण तथा सहप्रयोग सम्बन्धी आदेश २०६९ को आधारमा सकेसम्म एउटै पूर्वाधार र संरचनालाई एक भन्दा बढि निकायले उपयोग गर्नसकेमा साधन, श्रोत र लगानीमा मनग्गे कमी आउन सक्ने तर्फ सम्बन्धित निकायहरूको ध्यान जानुपर्ने
स्थलगत निरीक्षण पछि सचिव अर्यालले कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुहुँदै सञ्चार मन्त्रालय अन्तर्गतका निकायहरू बीच दूरसञ्चार पूर्वाधार निर्माण तथा सहप्रयोग सम्बन्धी आदेश २०६९ को आधारमा सकेसम्म एउटै पूर्वाधार र संरचनालाई एक भन्दा बढि निकायले उपयोग गर्न सकेमा साधन, श्रोत र लगानीमा मनग्गे कमी आउन सक्ने तर्फ सम्बन्धित निकायहरूको ध्यान जानुपर्ने बताउनुभयो ।
निरीक्षण भ्रमणमा सचिव अर्यालसँगै मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह,उत्तर कुमार खत्री,रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी. तथा निर्देशक मनोज कुमार चौधरी सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अर्यालले हालसम्म रेडियो नेपालले ९१ प्रतिशत जनसङ्ख्यामा आफ्नो प्रसारण पहुँच विस्तार गरिसकेको हुँदा आगामी दिनमा शतप्रतिशत प्रसारण पहुँचको लागि थप रिले प्रसारण केन्द्रहरू स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
रेडियो नेपालले ९१ प्रतिशत जनसङ्ख्यामा आफ्नो प्रसारण पहुँच विस्तार गरिसकेको हुँदा आगामी दिनमा शतप्रतिशत प्रसारण पहुँचको लागि थप रिले प्रसारण केन्द्रहरू स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिन सचिव अर्यालको निर्देशन
यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहले दुर्गम स्थानहरूका रिले प्रसारण केन्द्रहरू र रिपिटर टावरहरूमा कार्यरत कर्मचारीहरूको सेवा सुविधामा रेडियो नेपाल लगायतका सम्बन्धित निकायहरूले विशेष ध्यान दिनुपर्ने कुरा बताउनुभयो भने मन्त्रालयका अर्का सहसचिव उत्तर कुमार खत्रीले एउटै पूर्वाधार प्रयोग गरी सञ्चालन भएका निकायहरूले साझा जनशक्ति उपयोग गर्ने तर्फ आवश्यक पहलकदमी लिनुपर्ने विषय इङ्गित गर्नुभयो ।
त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी.ले रेडियो नेपालका २६ वटा रिले एफ.एम. प्रसारण केन्द्रहरू मध्ये सिमभञ्ज्याङ्गको एफ.एम. रिले प्रसारण केन्द्र एउटा प्रभावकारी र प्रसारणका दृष्टिले निकै ठूलो कभरेज क्षेत्र भएको रिले प्रसारण केन्द्र रहेको जानकारी गराउँदै रेडियो नेपालका एफ.एम. प्रसारण केन्द्रहरूका चुनौतीहरू र रेडियो नेपालले अपनाएका प्रसारण प्रविधिका बारेमा समेत जानकारी गराउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्