दुई दशकदेखि दाम्लोमा बाँधिएका युवकको उद्धार

भद्रपुर, झापा । झापाको अर्जुनधाराबाट २० वर्षदेखि दाम्लोमा बाँधिएका एक युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका युवकको मेची अभियानको सक्रियतामा उद्धार गरिएको हो ।
अर्जुनधारा १ का २६ वर्षीय रोशन ढुङ्गेललाई अभियानले मङ्गलवार उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको अभियानका सदस्य कौशल भण्डारीले बताउनु भयो ।
सामान्य अवस्थामै जन्मेका ढुङ्गेल २ वर्षको हुँदा बिरामी भएका थिए । रोशनका बाबु दुर्गाप्रसादले २ वर्षको उमेरदेखि रोशनको बोली बन्द भएको र अस्वाभाविक हाउभाउ देखाउन थालेको जानकारी दिनुभयो । उहाँले गाउँमा बिगार गर्ने, हराउने तथा खोज्नका लागि समस्या हुने भएकाले सधैँभरि दाम्लोले बाँधेर राखिएको बताउनु भयो ।
अत्यन्त न्यून आर्थिक अवस्थाको ढुङ्गेल परिवार बिरामीको उपचार गराउन सहरका अस्पताल लान सक्ने अवस्थामा थिएनन् ।उपचारका लागि लैजान अर्जुनधारा नगरपालिकाले एम्बुलेन्स निःशुल्क उपलब्ध गराएपछि र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि निःशुल्क उपचार गर्ने भएपछि रोशनले नयाँ जिन्दगी पाउने आशा पलाएको बाबु दुर्गाप्रसादले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्