एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह
लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रस्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज रुपन्देहीको मणिग्राममा गृहमन्त्री खाँणले एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रस्ट पार्नु जरुरी रहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्य तथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरूले नै एमसिसीबारे भ्रम फैलाएको बताउनुभयो । गृहमन्त्री खाँणले लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले काँग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गर्नुभयो ।
कार्यक्रममा जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार द्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो । गृहमन्त्री खाँणले जनही रु २५ हजार राशिको पुरस्कार प्रदान गर्नुभयो ।
त्यसअघि आजै गृहमन्त्री खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा गृहमन्त्री खाँणले विद्यालयमा निर्माण भएको १२ तथा ६ कोठे दुई वटा भवन र एचएम ल्याबको उद्घाटन गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्