कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रहेकोले छिटो लैजाने वातावरण बनाउन आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गर्नुभयो । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताउनुभएको थियो ।
कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भएपनि महामारीका कारण समस्या भएको उहाँको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारेनटिन बस्नुपर्ने भएकोले क्वारेनटिन अभावले धेरै श्रमिक एकै पटक लैजान नसकिएको उहाँले बताउनुभयो । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिनुहुँदै उहाँले छिटो सञ्चालन हुने विश्वास समेत दिलाउनुभयो ।
यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना सङ्क्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने आज १ सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते १ सय ७० जना जानेछन् ।
नेपालीहरू मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताउनुभयो । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्