‘विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीबिच समन्वय आवश्यक’
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीबिच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा आयोजित स्थानीय तहहरूका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले जनप्रतिनिधि र कर्मचारीबिच समन्वय र सहकार्य नभएसम्म विकास र समृद्धि सम्भव नरहेको बताउनुभयो ।

जनताको आवश्यकता र मनोभाव बुझ्ने जनप्रतिनिधि एवं कार्यान्वयन प्रक्रियाका जानकार कर्मचारीहरूबिच तालमेल भए मात्रै प्रदेशले विकास र सुशासनमा फड्को मार्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय तहहरूको आर्थिक सबलीकरणका लागी सरकारले ल्याएको नवप्रवर्तन साझेदारी कोष विकास र सुशासनका साथै तीन तहका सरकारबिच समन्वय र सहकार्यको कोशेढुंगा साबित हुने विश्वास वहाँले व्यक्त गर्नुभयो ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महोत्तरी, धनुषा, सिराहा र सप्तरीका स्थानीय तहका प्रमुख , उपप्रमुख, कार्यकारी अधिकृत, योजना शाखाका प्रमुख सहितको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्