गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा जानकी मन्दिरमा पूजा अर्चना

जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनकपुरधामको जानकी मन्दिरमा पुगेर आज पूजा अर्चना गर्दै प्रसाद ग्रहण गर्नु भएको छ ।
जानकी मन्दिरमा पूजाका लागि पुग्नु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्दै मन्दिरको अवस्थाका बारेमा जानकारी दिनुका साथै प्रसाद प्रदान गर्नु भएको थियो ।
जानकी मन्दिरमा पूजा अर्चनाका लागि मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल सहितको प्रतिनिधि मण्डल पुग्नु भएको थियो । आजै जनकपुरधामको राममन्दिर, जनक मन्दिरमा पनि पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्रीले पूजा अर्चना गर्नु भएको छ ।
बुद्ध एयरले शुरु गरेको जनकपुर–पोखरा, पोखरा–जनकपुर सिधा हवाई उड्डयनबाट मुख्यमन्त्री पोखरेल हिजो जनकपुरधाम आउनु भएको छ । मुख्यमन्त्री पोखरेल आजै महोत्तरी जिल्लाको टुटेश्वरनाथ महादेव मन्दिरमा पुगेर पूजा अर्चना गर्नु भएको छ ।
यसै बीच बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मिथिलाको संस्कृति र गाथा देशकै लागि अनुकरणीय भएको बताउँदै मधेश प्रदेशमा धार्मिक पर्यटनको व्यापक सम्भावना भएको बताउनुभयो ।
उहाँले विदेहराज जनकको कर्मभूमि, याज्ञवल्क्य, गार्गी, मैत्री तथा अष्टावक्र सहितका विद्वान, विदुषीको तपोभूमि हुनुको गर्विलो इतिहास मधेश प्रदेशसँग रहेको बताउँदै प्रदेश विकासको प्रचुर सम्भावना भएको बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले कृषिको पनि व्यापक सम्भावना भएको आफूले देखेको बताउँदै कृषि क्षेत्रको विकास गरेर कृषिमा आधारित उद्योगको विकास गर्ने सम्भावना भएको प्रदेश भएकाले यसको विकास चाडै हुने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्