तपाईँ सुन्दै हुनुहुन्छः

इपानद्वारा एमसिसीको अनुमोदनको स्वागत

काठमाडौँ । अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ ।

आगामी चैत १८ देखि २० गतेसम्म सङ्घीय राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले भन्नुभयो, ‘‘यो सम्झौताले खासगरी प्रसारण लाइनको समस्या झेलिरहेका हामी विद्युत् उत्पादक तथा प्रवर्द्धकका लागि त झनै उत्साह थप्नुको साथै नयाँ सम्भावनाको ढोका खोलेको छ । यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन मद्दत पुग्नेछ ।’’ 

देशमा आन्तरिक विद्युत्को खपत बढाउन र विद्युत् व्यापारलाई प्रवर्द्धन गर्न आगामी चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा तेस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुन लागेको हो । इपानको आयोजनामा हुन लागेको सो एक्स्पोमा स्वदेशी र विदेशी गरी सय वटा स्टल राखिनेछ । 

एक्स्पोमा जलविद्युत्का प्रवर्द्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैङ्क, बिमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन् । हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको विकसित पछिल्ला नेपालको जलविद्युतको लागि बजारको प्रवर्द्धन देशभित्र विद्युत् खपत बढाउने, विद्युत् व्यापारको हाइड्रोपावरसम्बन्धी सरोकार राख्नेहरूलाई छानामुनि पारी यससम्बन्धी सीप प्रविधिको जानकारी तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको इपानका उपाध्यक्ष आशिष गर्गले बताउनुभयो ।
 देशमा जलविद्युत्को ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षित परिणाम हासिल हुन नसकेको वर्तमान अवस्थालाई सहयोग पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिने सो एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास एवं क्यानेडियन हाइ कमिसनको साझेदारी रहेको छ । 

एक्स्पोमा नेपाल र भारतका विज्ञहरूले विद्युत् उत्पादन, प्रसारण, प्रविधि र व्यापारसम्बन्धी चार बुँदे विषयवस्तुमा छलफल गराउनुको साथै जलविद्युतसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिने छ । ‘‘भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका पारस्परिक सहयोग सहकार्यमा समेत सहजता आउने हामीले विश्वास गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘यसबाट नेपालको जलविद्युत्को बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर हुनेछ ।’’ उहाँले जलविद्युत् लगानीकर्ता, उत्पादक, इञ्जिनीयरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने उहाँको भनाइ छ । 

स्वच्छ ऊर्जाको प्रवर्द्धनमा सहयोग पुर्‍याउन नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगमा अभिवृद्धि गर्ने हेतुले सोको प्रतिकस्वरूप नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनामा एक्स्पो आयोजनास्थल भृकुटीमण्डपबाट विद्युतीय गाडीको र्‍याली गरिने र सो अवसरमा विद्युतीय चार्जिङ स्टेशनको समेत उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी दिइयो । एक्स्पोमा विद्युतीय चुलोको प्रयोग बढाउन विभिन्न ब्राण्डका चुलोको प्रदर्शनी पनि गरिने छ । 

यसअघि सन् २०१८ र सन् २०१९ मा प्रथम र दोस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिँदा मुलुकमा विद्युत् अभावका कारण विद्युत् कटौतीको अवस्था रहेको थियो भने दुई वर्ष कोरोना महामारीका कारण स्थगित भई यस पटक तेस्रो एक्स्पो आयोजना गर्दा विद्युत्को अधिकतम खपत र विदेशमा निर्यातको सम्भावनाको खोजीमा जोड दिन लागिएको उपाध्यक्ष गर्गले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button