तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा–धनगढी सिधा हवाई उडान सुरु

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा देखि सुदूरपश्चिमको धनगढी सम्म सिधा हवाई उडान सञ्चालनमा आएको छ ।

बुद्ध एयरले बुधवारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो । पोखरा–धनगढी साताको ३ दिन आइतबार, बुधवार र शुक्रवार उडान हुनेछन् । पोखराबाट बिहान ११ः४० मा जाने र धनगढीबाट १२ः५० मा फर्कने उडान तालिका छ । ५५ मिनेटको हवाई दुरीमा भाडा दर ६ हजार ९ सयदेखि १२ हजार २ सय ४० रुपैयाँ सम्म कायम गरिएको छ ।

पोखरा–धनगढी विमान सञ्चालनको पहिलो दिन १८ यात्रु बोकेर विमान धनगढी पुगेको छ । धनगढी जाने यात्रुलाई गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले बिदाइ गर्नुभयो । बिदाइ गर्दै उहाँले दिनभरि लाग्ने लामो दुरीको यात्रा अब छोटिएकोमा खुसी व्यक्त गर्दै दुई प्रदेशको राजधानीबिच सिधा हवाई उडान सञ्चालन हुँदा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो फ्लाइटमा धनगढी गएको नाट्टाको टोलीले दुई दिनसम्म धनगढी र वरपरका पर्यटकीय गन्तव्यको भ्रमण गर्ने गर्ने कार्यक्रम छ भने शुक्रवार सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र व्यवसायी सहितको टोली पोखरा भ्रमणमा आउने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button