तपाईँ सुन्दै हुनुहुन्छः

नरभक्षी बाघ नियन्त्रणमा

नेपालगञ्ज । बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जङ्गलबाट आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।
फत्तेपुरस्थित सिक्टाको पूर्वी नहर पारी जङ्गलबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताउनुभयो । पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समिति लगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघले पाँच जनाको ज्यान लिइसकेको थियो । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button