तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट उद्यमी तामाङ एक लाख नगदसहित सम्मानित

जुम्ला । उत्कृष्ट उद्यमीका रुपमा जुम्लाको चन्दननाथ नगरपालिका २ निवासी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरिएको छ ।

उत्कृष्ट उद्यमी सम्मान गर्ने कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्वारा तामाङलाई सम्मान गरिएको हो ।

सोमबार जुम्लामा एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले उत्कृष्ट उद्यमी तामाङलाई प्रशंसा पत्र हस्तान्तरण सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

उद्यमीलाई प्रोत्साहन गर्न, उद्यमशीलताको विकास गर्न तथा प्रदेश स्तरका नमुना उद्यमीका रुपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी छनोट गरी तामाङलाई सम्मान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षणका कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार नगद पुरस्कारको १ लाख मध्य २५ प्रतिशत कर कट्टी गरेर बाँकी ७५ हजार रकम उद्यमी तामाङको खातामा जम्मा भइसकेको छ ।

पुरस्कारका लागि दरखास्त आह्वान गर्दा जिल्लाभरका ६ जना नमुना उद्यमीको आवेदन परे पनि स्थलगत अनुगमन गर्दा कुन्जाङ झोला तथा राडी पाखी उद्योगले सबै मापदण्ड पुरा गरेको भेटिएपछि उत्कृष्ट उद्यमीका रुपमा कुन्जाङ पुटिङ तामाङलाई छनोट गरी सम्मानित गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button