तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ३३ हजार मतदाता थपिए 

सल्यान । सल्यानमा ३३ हजार मतदाता थपिएका छन् । 

२०७४ को स्थानीय तहको निर्वाचनको भन्दा आगामी निर्वाचनका लागि ३३ हजार ६ सय १४ मतदाता थपिएका हुन । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १ लाख २५ हजार २ सय ५६ मतदाता रहेकोमा २०७९ को निर्वाचनमा १ लाख ५८ हजार ८ सय ७० मतदाता हुने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । 

अद्यावधिक गरिएको गरिएको मतदाता नामावलीमा ७८ हजार ४ सय ६ पुरुष रहेका छन् भने ८० हजार ४ सय ६४ महिला रहेका छन् । 

यस्तै, निर्वाचन कार्यालय सल्यानले मतदाता नामावली दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ । मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरिएको निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले जानकारी दिनुभयो । 

मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएका लगायत विभिन्न समस्या भएमा फागुन २० गतेभित्र सुधार गरिसक्नुपर्ने उहाँको भनाई छ । 

प्रकाशित मतदाता नामावलीमा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन सम्बन्धित परिवारले मृतकका हकमा मृत्यु दर्तासहित सम्बन्धित वडामार्फत नाम दर्ता अधिकारीलाई निवेदन दिन सकिने उहाँको भनाई छ । 

कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोका विरुद्धमा उजुरी दिन, दाबी विरोध गर्न, बसाइसराइलगायत विभिन्न कारणले नाम फरक परेका मतदातालाई नाम सच्याउन सकिने उहाँले बताउनुभयो । 

सल्यानमा थप तीन स्थानमा मतदान स्थल थप भएको छ । कालीमाटी, त्रिवेणी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा मतदान स्थल थप गरिएको हो । 

जिल्लामा १ सय ११ मतदान स्थल रहेकोमा थप गरी १ सय १४ बनाइएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button