२ महिनामा ३३ वटा चोरीको मोटरसाइकल बरामद, ४५ जना पक्राउ
वीरगन्ज । पर्सा जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न तथा लागु औषध नियन्त्रणको अभियानमा पर्सा प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले वीरगन्जमा मोटरसाइकल चोरीको घटना बढ्न थालेपछि प्रहरीले पुसदेखि फागुन ११ गतेसम्म सञ्चालन गरेको विशेष अभियानमा ४५ जना मोटरसाइकल चोरलाई पक्राउ गर्नुका साथै ३३ वटा चोरी भएका मोटरसाइकल बरामद गर्न सफल भएको बताउनुभयो ।
उहाँले मोटरसाइकल चोरीका २९ वटा उजुरी दर्ता भएको समेत जानकारी दिनुभयो । यसैगरी २ महिनाको अवधिमा अवैध लागू औषधमा ७७ वटा मुद्दा दर्ता भएको र त्यसमा तीन महिलासहित १ सय जनालाई पक्राउ गरी कारबाही पक्रिया अघि बढाइएको खनालले बताउनुभयो ।
त्यस अवधिमा पर्सा प्रहरीले अवैध लागु औषध गाँजा ३ सय ११ किलो, चरेस १३ किलो, ब्राउन सुगर २५ ग्राम, अफिम साँढे ९ किलो, फेनारगन ३ हजार १३७, डाइजील्याब २०३६, नुर्फिन २३६, नाइट्रोभ्याट ३२९६ र कोरेक्स ४०९ बोतल बरामद भएको समेत बताउनुभयो । उहाँले २ महिनाको अवधिमा पर्सा प्रहरीले करिब तीस बिघा क्षेत्रको अवैध गाँजा खेती फडानी समेत गरेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्