‘अर्थतन्त्रका समस्या समाधानका लागि एकीकृत प्रयास आवश्यक’
काठमाडौँ । योजनाविद् तथा अर्थशास्त्रीहरूले मुलुकको अर्थतन्त्रमा हाल देखिएको समस्याको समाधानका लागि एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शुक्रवार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा योजनाविद् तथा अर्थशास्त्रीहरूले नेपाली अर्थतन्त्रका समस्याहरू क्रमशः गहिराइतर्फ अघि बढेकाले समयमै आवश्यक सजगताका साथ सुधारका प्रयास अघि बढाउनु आवश्यक भएको बताउनुभएको हो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थतन्त्रका परिसूचकहरू परस्पर विरोधी देखिएकोले अर्थतन्त्र दीर्घकालीन रुपमा प्रभावित हुने गरी क्रियाकलाप हुन नदिन आवश्यक सजगता अपनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले एमसिसिका कारण नेपालको अर्थतन्त्रमा पर्न सक्ने प्रत्यक्ष र परोक्ष असर सम्बन्धमा समेत गम्भीर छलफल गर्नु आवश्यक भएको बताउनुभयो ।
पूर्व अर्थमन्त्री अर्थशास्त्री डा रामशरण महतले विकास आयोजनाहरूको लागत र प्रशासनिक खर्च अत्यधिक बढेको, विकास खर्च हुन नसकेको र आन्तरिक ऋण बढेको कारण मुलुकको अर्थतन्त्र प्रभावित भएको भन्दै नेपालले उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अर्थशास्त्री प्रा डा विश्वभर प्याकुरेलले आन्तरिक र विश्वव्यापी अवस्थाले गर्दा नेपालको मुद्रास्फीति यस आर्थिक वर्षको अन्त्य सम्ममा डबल डिजिटमा जान सक्ने आङ्कलन गर्नुभयो ।
अर्का अर्थशास्त्री प्रा .डा. गोविन्द नेपालले समाजमा सहुलियत र अनुदानको असमान वितरणले थप समस्या आउनेतर्फ समयमा नै सजगता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइका कारण माघसम्ममा भुक्तानी सन्तुलनको अवस्थामा सुधार आउने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै विगत ४५ वर्षसम्म नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत वरिपरि रहेको, लगानीलाई व्यापारले प्रतिस्थापन गरेको तथा अर्थतन्त्रका समस्याहरू क्रोनीक बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्षहरू प्रा. डा. पुष्पराज कँडेल, डा. जगदीशचन्द्र पोखरेल, अर्थ मन्त्रीका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, त्रिभुवन विश्व विद्यालयका रेक्टर प्रा. डा. शिवराज भुसाल लगायतले नेपालको अर्थतन्त्रका समस्याहरूको निराकरणका लागि एकीकृत प्रयास आवश्यक भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्