तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान–रोल्पा जोड्ने पक्की पुलको शिलान्यास 

सल्यान । रोल्पा जोड्ने सडकको बागचौरको जँघार खोलामा पक्की पुल निर्माण हुने भएको छ । 

जिल्लाको बागचौर नगरपालिका–२ र ८ को शारदा नदीको जँघारमा पक्की पुलको शिलान्यास गरिएको हो ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने उक्त सडकको आज कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्मा र बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभयो । 

पुल शिलान्यास गर्दै शर्माले सल्यान र रोल्पाको विकासमा प्रदेश सरकारको विशेष प्राथमिकता दिएको बताउनुभयो । यस सडकले पालिका मात्र नजोडी दुई प्रदेशलाई जोड्ने भएकाले प्रदेशको गौरवको आयोजना भएको उहाँले बताउनुभयो । 

यस्तै, मेयर बुढाथोकीले पुल बनेपछि धेरै समस्याको समाधान हुने बताउनुभयो । स्थानीय जनताको जीवनस्तरमा परिवर्तन ल्याउन पनि यस पुलले ठूलो भूमिका खेल्ने उहाँको भनाई छ । 

चार वर्षमा सम्पन्न गर्ने गरी प्राकृतिक निसान जेभि रुपन्देही भैरहवाले ३ करोड ६२ लाखको लागतमा २०७८ असार २७ गते सम्झौता गरेको थियो । चार वर्षको अवधि भए पनि आउँदो आर्थिक वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइने निर्माण कम्पनीले जनाएको छ । 

२०६० सालमा ट्र्याक खुले पनि अहिलेसम्म बागचारै पातिहान्न सडकको स्तरोन्नति भने हुन सकेको छैन । पुल निर्माण भएपछि आवतजावत गर्न निकै सहज हुने स्थानीय सर्गम वलीले बताउनुभयो । पुल नहुँदा वर्षातको समयमा सवारी आवतजावत बन्द हुँदै आइरहेको थियो । 

उहाँले यो क्षेत्रमा पुलको अति आवश्यक महसुस गरी पुल निर्माणमा सहयोग गरेकोमा पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार शर्मालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “पुल नहुँदा नदीबाट वारपार गर्दा स्थानीयले निकै सास्ती व्यहोर्दै  आइरहेका थिए । अब पुल बन्यो भने निकै सहज हुने छ ।”

मोटरबाटो र पुलबाट यस क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा धेरै परिवर्तन हुने विश्वास यहाँका जनताले लिएको वलीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button