पर्यटन प्रवर्द्धनका लागि साइक्लिङ प्रतियोगिता हुने
वीरगन्ज । वीरगन्ज महानगरपालिका सहितका स्थानीय निकाय तथा सरकारी, गैर सरकारी संस्थाको सहयोगमा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि साइक्लिङ प्रतियोगिता हुने भएको छ ।
जैविक विविधता तथा प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आकर्षण बढाउनका लागि नेपाली सेनाको सिद्धीबक्स गण, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटन व्यवसायी सङ्घ बारा, टुर एन्ड ट्राभल एसोसिएसन लगायतको संयुक्त आयोजनामा साइक्लिङ प्रतियोगिता हुन लागेको हो ।

साइक्लिङ प्रतियोगिता आयोजक समितिको टोलीसँग आज भएको छलफलमा वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय सरावगीले पर्सा राष्ट्रिय निकुञ्जमा हुने पर्यटन प्रवर्द्धन कार्यक्रममा महानगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली सेनाको अगुवाइ, मधेस प्रदेश सरकारको सहकार्यमा सञ्चालन गरिएको वीरगन्ज म्याराथन– २०७६ जस्तै यस पटक पर्सा राष्ट्रिय निकुञ्जमा साइक्लिङ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ कि.मी. साईक्लिङ्ग कार्यक्रम–२०७७ मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई आकर्षण गर्न सकेमा त्यस आसपासमा रहेका अन्य पर्यटकीय गन्तव्यहरूको पनि विकासमा सहयोग पुग्ने तथा वीरगन्ज मुख्य नाका भएकोले यही नाका भएर भारतीय पर्यटकहरू आउने भएकोले वीरगन्जले त्यसको उपयोग गर्ने अवसर पाउने नगर प्रमुख सरावगीले बताउनुभयो ।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, नेपाली सेनाको सिद्धीबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङ, होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका महासचिव मोहन शर्मा, नेपाल ट्राभल एन्ड टुर्स एसोसिएसन मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्