राजकुमार चेपाङको हत्या अभियोगमा सैनिकलाई जन्मकैदको फैसला

मकवानपुर । उच्च अदालत पाटन, हेटौँडा इजलासले चितवनको राप्ती नगरपालिका–२ घर भएका राजकुमार चेपाङको हत्या भएको ठहर गर्दै घटनामा संलग्न सैनिकलाई जन्मकैदको फैसला सुनाएको छ ।
नेपाली सेनाको यातनाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका चेपाङको मुद्दामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैद (२५ वर्ष) को सजाय गर्ने फैसला गरेको अदालतका रजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिनुभयो ।
बुढाको यातनाका कारण घाइते भएका चेपाङको उपचारका क्रममा २०७८ साउन ८ गते अस्पतालमै मृत्यु भएको थियो । उक्त मुद्दामा जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाउनुभएको थियो । त्यसविरुद्ध पीडितका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले पुनरावेदन गरेको थियो ।
९ महिना सजाय हुने गरी कसुर ठहर भएकाले जागिर गुमाउन पुग्नुभएका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौँडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियाको गेरुवा गाउँपालिका–५ का बुढाको हेलचेक्र्याइँले चेपाङको ज्यान गएको जिल्ला अदालतको फैसलामा उल्लेख थियो । २०७७ असोज ४ मा पक्राउ परेका बुढा त्यसपछि जिल्ला अदालतको फैसला आउन्जेल ९ महिना २४ दिन थुनामा बसेका थिए ।








प्रतिक्रिया राख्नुहोस्