तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकले परिवर्तन महसुस गर्ने गरी काम गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिनु भएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरूप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महसुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिनुभयो । 

विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानूनी व्यवधान फुकाउन मन्त्रालय सदैव तयार रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । 

मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरूमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरी काम गर्न समेत विभागलाई निर्देशन दिनुभयो । 

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button