तपाईँ सुन्दै हुनुहुन्छः

खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

सर्लाही । यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । 

कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले आफ्नो पठन पाठनको काम नियमित गरेका हुन् ।

जिल्लाका २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी, धार्मिकलगायतका सबै विद्यालयले विद्यार्थीलाई खोप लगाइसकेका कारण विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेका शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ ।

जिल्लाका पालिकाले सूचना निकालेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाले विद्यालय बन्द रहने जानकारी गराएका थिए । 

विद्यार्थीलाई खोप लगाइसकेपछि पुनः सूचना निकालेर पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताउनुभयो ।

जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका एक लाख दुई हजार ९८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको सङ्ख्या भने सङ्कलन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button