तपाईँ सुन्दै हुनुहुन्छः

 एमसीसीको विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलको निर्णय 

काठमाडौँ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी सम्झौता संसदमा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौतामा रहेका असमान सर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको हो । 

“एमसीसी सम्झौता यथास्थितिमा अगाडि बढाउन सकिँदैन, पास गर्न सकिँदैन । जबरजस्ती एमसीसी टेबल गरिए त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” बैठकपछि माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले भन्नुभयो । 

बैठकले एमसीसीमा रहेका राष्ट्रिय हित अनुकूलका प्रावधान संशोधन नगरी यसलाई अगाडि बढाउन नसकिने निष्कर्षसमेत निकालेको छ । “अहिले विपक्षी पार्टीले संसद् अवरोध गरिरहेको अवस्था छ । सदन सञ्चालन गर्न जोड दिने, सदन सञ्चालन नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीको निष्कर्ष छ,” उहाँले भन्नुभयो । 

बैठकले सदन सञ्चालन गर्न विपक्षी नेकपा (एमाले)सँग पनि आग्रह गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौतालाई अगाडि बढाउनुपर्ने निष्कर्ष माओवादी बैठकले निकालेको छ । “राष्ट्रिय सहमतिबिना एमसीसी अगाडि बढ्न सक्दैन, गठबन्धनमा रहेका दलहरूका बीचमा सहमति हुनुपर्छ, दलहरूका बीचमा सहमति नभई यो अगाडि बढ्न सक्दैन,” प्रमुख सचेतक गुरुङले भन्नुभयो ।  

उहाँले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार एक्लै अगाडि बढ्ने अवस्था हुँदैन भन्दै सरकारले गठबन्धन तोडेर जबरजस्ती गरेको अवस्थामा सरकारमा रहने सम्भावना नरहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button