तपाईँ सुन्दै हुनुहुन्छः

युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना पक्राउ

काठमाडौँ । युरेनियम भनिएको पदार्थसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका भुपेन्द्र खड्का, रामकृष्ण लामिछाने, ललितपुरका नवराज महत, सिराहाका गोपीलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन् । यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन् ।

प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटेलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरिराखेको कारबाट २ किलो ८०० ग्राम तौल भएको युरेनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।

सोधपुछ गर्ने क्रममा उक्त युरेनियम जस्तो देखिने पदार्थलाई उनीहरूले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि हुन बाँकी रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button