कर्णालीका उद्योग मन्त्री लामाविरुद्ध अदालतमा रिट दायर

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा उर्फ कार्चेन लामाविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।
फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सुर्खेतको वीरेन्द्रनगर–३, निवासी विनीता बोगटीले आज प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाएर अदालतमा रिट दायर गर्नु भएको हो ।
रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो अन्तिम फैसला भएको अवस्थामा प्रदेशसभा निर्वाचन ऐन विपरीत प्रदेशसभा सदस्यको उम्मेदवार हुन अयोग्य व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरिनु कानूनी राज्यको उपहास भएको उल्लेख छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो पटक माघ २३ गते पाँच मन्त्री नियुक्त गर्नु भएको थियो । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै यसअघि उच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाउन आदेश जारी गरेको छ । नेकपा माओवादी हुम्लाका नेता रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मङ्सिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।






प्रतिक्रिया राख्नुहोस्