तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य बिमा अनिवार्य

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीहरूको स्वास्थ्य बिमा कार्ड अनिवार्य गरेको छ । नगर कार्यपालिकाको नवौँ बैठकले नगरका सबै जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो बिमा गरेकै हुनुपर्ने निर्णय गरेको हो  ।

नगरप्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको बैठकले फागुन १५ गते भित्र सबै जनप्रतिनिधि र कर्मचारीले सम्बन्धित वडा र शाखा मार्फत स्वास्थ्य बिमा गरेको प्रतिलिपि अनिवार्य प्रशासन शाखामा बुझाइसक्नुपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य बिमा गरेको कार्डको प्रतिलिपि नबुझाउनेहरूको सेवा सुविधा रोक्ने निर्णय समेत गरिएको नगरप्रमुख कुल बहादुर कुवरले बताउनु भयो । स्वास्थ्य बिमाबाट उपचारमा सजिलो हुनुका साथै निःशुल्क उपचार गर्ने अस्पताललाई समेत राहत हुने भएकोले यस्तो निर्णय गरिएको नगरप्रमुख कुँवरले बताउनु भयो ।

परिवारका ५ जनाको स्वास्थ्य बिमा गरेमा १ वर्षसम्म १ लाख बराबरको उपचार निःशुल्क हुने गरी सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । थप सदस्यको लागि प्रति सदस्य ७ सय थप शुल्क तिर्नुपर्ने र १ लाख ५० हजार सम्मको उपचार निःशुल्क हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button