तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

झापा । झापामा शनिबार भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालक छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबेर सोही ठाउँका टिकामाया श्रेष्ठका ३ वर्षीय छोरा आयुसको मृत्यु भएको हो ।

शनिबार बिहान घरबाट उत्तरतर्फको सडकको नालीमा डुबेका ती बालकको उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको थियो ।

यसैगरी झापाको मेचीनगर–१३ स्थित फुलबासा खोलामा करेन्ट हालेर माछा मार्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँका ५० वर्षीय मानबहादुर बराइलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न ४ बजे आफ्नै घरबाट बिजुलीको तार जडान गरेर खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका बराइलीको उपचारका लागि बिर्तामोड लाँदै गर्दा मृत्यु भएको हो ।

दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button