झापाको मेचीनगरमा आगलागी : दुई घर जलेर नष्ट

भद्रपुर, झापा । झापाको मेचीनगरमा फेरि आगलागी भएको छ । मेचीनगर–६ काँकडभिट्टामा आज बिहान आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।
भानुटोलस्थित पासाङ तामाङ र दिलबहादुर गुरुङको घरमा आगलागी हुँदा पूरै घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
दुवै घरमा कोही नभएको अवस्थामा बिहान करिब ९ः३० बजे बिद्युत् सर्ट भई आगलागी भएको स्थानीयले बताएका छन् ।
तामाङको घरमा भएका कुनै पनि सामान बाहिर निकाल्न नपाएको स्थानीयको भनाइ छ । तामाङको टिनको छानो र चित्राको बेरा लगाएको घर, लत्ताकपडालगायत सबै सामान जलेर खरानी भएको छ । गुरुङको घरबाट पनि धेरै सामान निकाल्न नपाएको बताइएको छ ।
आगलागी भएपछि समयमै दमकल नपुगेको स्थानीयको गुनासो छ । मेचीनगर नगरपालिकाको दमकल समयमै नपुग्दा आक्रोशित बनेका स्थानीयले सडकमा टायर बालेर नगरपालिकाको गेटमा ताला लगाएर बिरोध जनाएका छन् ।
यसअघि, शनिबारे मात्रै मेचनिगर १४ स्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको थियो भने एक साताअघि काँकडभिट्टास्थित जुत्ता बनाउने उद्योगमा आगलागी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्