क्वालालम्पुरस्थित दूतावासबाट विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’
काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ ।
विभिन्न पेसा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावासले जनाएको छ ।
मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेका सरकारको तथ्याङ्क छ ।
वैदेशिक रोजगारीमा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरेर बुधवारदेखि कार्यक्रमको सुरुआत गरिएको दूतावासले जनाएको छ ।
राहदानी विभागबाट चौधरीको राहदानी प्रिन्ट गरेर सफलतासाथ परीक्षण गरिएको थियो । दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको थियो ।
एक साता सीमित सेवाग्राहीलाई अनलाइन ‘बुकिङ’का आधारमा सेवा प्रदान गर्ने र सो पश्चात् नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
विद्युतीय राहदानी सुरुआत कार्यक्रममा नेपालबाट ‘भर्चुअल’ माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सहभागिता जनाउनुभएको थियो ।
कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीषले सेवाग्राहीको चापलाई सहज रूपमा व्यवस्थापन हुने गरी सेवा प्रवाह केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्र वाचक राहदानी जारी नहुने बताउनुभएको दूतावासले जनाएको छ ।
यसअघि कतारको दोहास्थित नेपाली दूतावासले पनि गत आइतबारदेखि राहदानी नवीकरणको लाइभ इनरोलमेन्टको सुरुआत गरेको थियो ।
माग पत्र प्रमाणीकरण सुरु
कोरोना सङ्क्रमण ओरालो लाग्दै गरेपछि दूतावासले माग पत्र प्रमाणीकरणसम्बन्धी सेवा सुरु गरेको छ ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न भन्दै मलेसिया सरकारले सन् २०२० को मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेशपश्चात् दूतावासले माग पत्र प्रमाणीकरण बन्द गरेको थियो ।
माग पत्रसम्बन्धी कागजपत्र प्रमाणीकरणको काम मङ्गलवार, बुधवार र बिहीबार हुने दूतावासले जनाएको छ । माग पत्रसम्बन्धी कागजात भने सोमबार नै दूतावासमा बुझाउनुपर्ने छ ।
माग पत्रसम्बन्धी कागजात पेस गर्नुअघि दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेर पेस गर्ने समय लिनुपर्नेछ । रासस








प्रतिक्रिया राख्नुहोस्