तपाईँ सुन्दै हुनुहुन्छः

गिद्ध जोगाउन संरक्षणकर्मीहरूको अपिल

तनहुँ । लोपोन्मुख अवस्थामा रहेको गिद्धको संरक्षण गर्न सरोकारवाला निकायसँग संरक्षणकर्मीहरूले आग्रह गर्नुभएको छ  । 

विकासको नाममा गिद्धको वासस्थान मासिने क्रम बढ्न थालेको भन्दै शुक्रवार तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालसहित सरोकारवाला पक्षलाई उहाँहरूले आग्रह गर्नुभएको हो । 

पोखरा मुग्लिन सडक विस्तारका क्रममा सडकको दायाँ बायाँ रहेका सिमल रुख काटिदा सङ्कटापन्न अवस्थामा रहेका गिद्ध मासिन सक्नेतर्फ उनीहरूले ध्यानाकर्षण गराउनुभएको हो । 

गत पुस २० गते जिल्लाको शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा रहेको सिमलको रुख काट्दा सङ्कटापन्न अवस्थामा रहेको सानो खैरो गिद्धको बच्चा मरेको थियो । 

संरक्षणकर्मीहरूको उक्त सिमलको रुख बच्चा नहुर्कँदासम्म नकाटिदिन आग्रह गरे पनि सरोकारवाला निकायले पहल नगरेका पोखरा पक्षी समाजले जनाएको छ ।
 वर्षमा एक मात्र अण्डा पारेर बच्चा जन्माउने यो गिद्ध विश्वकै दुर्लभ पक्षीको सुचीमा रहेको पोखरा पंक्षि  समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । 

गिद्ध विज्ञ समूहका सदस्य समेत रहनुभएका ढकालले अन्य स्थानमा रहेको अग्ला सिमलका रुखहरूमा समेत बच्चा हुर्किरहेको हुनसक्ने भएकोले ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

“लोपोन्मुख अति सङ्कटापन्न सूचीमा रहेका गिद्धले यति बेला बच्चा हुर्काउने हुनाले केही समय सिमलका रुख काट्न हुँदैन ।” उहाँले भन्नुभयो ।

 पक्षी संरक्षणकर्मीको अनुरोधलाई स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले उक्त गिद्धको संरक्षण गर्ने पहल भइरहेको बेला रुख काटेर घटना घटेको भन्दै दुख व्यक्त गर्नुभयो ।

प्रजिअ अर्यालले सङ्कटापन्न अवस्थामा रहेको प्रजातिको संरक्षण गर्ने कर्तव्य सबै सरोकारवाला पक्षको हुने बताउनुभयो । 

उहाँले उक्त रुख कटान नजिकै अर्को ठुलो सिमलको रुख समेत रहेकाले त्यहाँ उक्त गिद्धले गुण लगाउन सक्ने सम्भावना रहेको भन्दै त्यो रुख नकाटी संरक्षण गर्ने व्यवस्था मिलाउन शुक्लागण्डकी नगरपालिका र डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रकृतिमा कुचीकारका रुपमा समेत चिनिने गिद्ध प्रजाति पछिल्लो समय लोप हुँदै जान थालेका छन् । गिद्धका लागि उचित वासस्थान मासिनु र मरेको पशु चौपायालाई खाल्डो खनेर गाड्न प्रचलन बढ्न थालेपछि आहाराका अभावमा गिद्ध मासिँदै गएको जानकार बताउँछन् । 

पृथ्वीराज मार्गको स्तरोन्नति गर्ने क्रममा तनहुँमा मात्र छ हजार सात सय ५० रुख काटिँदै छ । राजमार्गलाई चार लेनको बनाउन पोखरा मुग्लिनसम्मको ८० किलोमिटर खण्डलाई दुई भागमा विभाजन गरेर काम भइरहेको छ । 

आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डका लागि रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ । 

यता जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button