गुन्द्रुक उपहार पठाउने झोर गाउँ

दोलखा/मेहनती किसानहरूको गाउँ हो झोर । काउली र आलु खेतीमा अब्बल रहेको दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ८ मा पर्ने यो गाउँका बासिन्दा पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गर्छन् ।
यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको छ, स्थानीय किसान दिपेश श्रेष्ठले भन्नुभयो – स्वादिष्ठ काउलीको पातको गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भएपनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रुपमा पठाउने गरिएको छ । झण्डै ६५ घरधुरी रहेको झोर गाँउमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रुपमा आफन्तलाई पठाउने र कहिले काहीँ घरमा आफै खान भनेर ८/१० केजीसम्म बनाएर राख्ने गरेका छन् ।

गुन्द्रुकको व्यवसायीक उत्पादन भने सुरु भई नसकेको दिपेशले बताउनुभयो । झोर गाउँका किसानहरूले वार्षिक एक करोडसम्मको काउली र आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४र५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाई छ ।काउली बिक्री गर्दा ठूला पातहरू छाँट्नु पर्ने भएकोले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको दिपेशको भनाई छ । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेको दिपेश बताउनुहुन्छ । त्यसैले पनि झोर गाउँबाट काठमाडौँ, पोखरा लगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रुपमा पठाउने गरिएको हो – स्थानीय किसान दिपेशले भन्नुभयो ।
काउलीको गुन्द्रुक बिक्री गर्नुपर्दा केजीको १६ सय रुपैयाँसम्म पर्ने स्थानीय किसानहरूको भनाई छ । यसको माग राम्रो रहेकोले अब व्यवसायीक उत्पादन गर्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको स्थानीहरु बताउनुहुन्छ । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल झोरका किसानहरूले गुन्द्रुक उत्पादनको लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकाको तर्फबाट केही सहयोग गर्न सकिने बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्