शैक्षिक सुधारका लागि ५५ बुँदे योजना कार्यान्वयनमा: शिक्षामन्त्री पौडेल
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

विद्यालयको भौतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाइने बताउनुभयो । आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय गाभ्ने अभियान थालिने उहाँको भनाइ छ ।
देशभरका विद्यालय र शिक्षकको अनुपात अध्ययन गरी दरबन्दी थप्ने तयारीमा सरकार पुगेको उहाँले बताउनुभयो । शिक्षा क्षेत्रको सुधारका लागि तीन नयाँ ऐन मन्त्रालयले तयार गरिसकेको पौडेलले बताउनुभयो ।
सङ्घीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिट्टै अन्त्य हुने मन्त्री पौडेलको धारणा छ ।
शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाइएको भन्दै मन्त्री पौडेलले अबका दिनमा शिक्षकले फाइल बोकेर मन्त्रालय धाउने कामको अन्त्य गरेर आवश्यकताको आधारमा काम हुने पद्धति विकास गरिएको बताउनुभयो ।
मन्त्री पौडेलले चार वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले तयारी गरेको उल्लेख गर्दै खोप ल्याउने क्रम सुरु भइसकेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्