हिउँमा फसेकाहरूलाई हेलिकोप्टरबाट राहत सामाग्री
जुम्ला । हिउँमा दुई दिनदेखि फसेका नागरिकहरूलाई हेलिकप्टरबाट राहत सामाग्री पुर्याएर उद्धार टोली फर्किएको छ ।
तातोपानी गाउँपालिका ८ को गाग्रो पाटनको एडि ओडारमा १४/१५, खोटी सल्ला ओडारमा ५/६ र गाग्रो ओडारमा रहेका ३/४ जना गरी अनुमानित २० जना बढी नागरिकलाई राहत सामाग्री पुर्याएर उद्धार टोली फर्किएको हो ।

सेतो चिनी (खिरौँला) सङ्कलन गर्न पाटनमा गएका स्थानीय बिहीबारदेखि भएको भारी हिमपातका कारण अलपत्र परेका थिए ।
५५ जना हिउँमा फसेको खबरपछि कर्णाली प्रदेश सरकारको टोली राहत सामाग्री सहित आइतबार गाग्रा पाटनमा पुगेर केही दिनलाई पुग्ने राहत सामाग्री दिइएको तातोपानी ८ का स्थानीय सुरत बहादुर शाहीले बताउनुभयो ।
पाटन भरी ३/४ पटक हेलिकप्टर घुमाएर हेर्दा प्रत्यक्ष सबै नागरिक नभेटिए पनि धेरै ठाउँमा आगो बालेको धुवाँ आइरहेकोले सबै सुरक्षित नै रहेको अनुमान गरिएको छ । तत्काल घर फर्किने अवस्था नरहेकोले ४/५ दिनपछि मात्रै हिउँ पग्लेपछि घर फर्किन सम्झाइएको शाहीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले गाग्रो पाटनमा ५५ जना हिउँमा फसेको भनिए पनि ३४ जना मात्रै रहेको बताउनुभयो ।
त्यस्तै पाटनबाट फर्किने क्रममा भारी हिमपातका कारण जुम्लामा दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतो चिनी (खिरौँला) सङ्कलन गर्न गएका तातोपानी गाउँपालिका–८ की ३७ वर्षीया देवी शाही र तातोपानी ७ बार गाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्