भूतपूर्व सैनिक सम्मेलन-२०७८ सञ्चालन हुँदै

काठमाडौँ । नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलन-२०७८ सञ्चालन गर्ने भएको छ । भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारहरूलाई लक्षित गरी नेपाली सेनाको व्यवस्थापन तथा कल्याणकारी बोर्डको संयोजकत्वमा चौथो चरणको भूतपूर्व सैनिक सम्मेलन-२०७८ सञ्चालन हुन लागेको सेनाले जनाएको छ ।
२०७८ चैत्र ०९ गते दिपायलस्थित श्री नं.५ बाहिनी अड्डामा, १० गते धनगढीस्थित श्री भवानी दल गणमा, २० गते सुर्खेतस्थित श्री पश्चिम कमाण्ड हेडक्वाटरमा र २१ गते नेपालगञ्जस्थित श्री नं. ४ बाहिनी अड्डामा सम्मेलन सञ्चालन हुने सेनाले जनाएको छ । सो भूतपूर्व सैनिक सम्मेलनमा डडेलधुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लाहरूमा बसोबास गरी सोही क्षेत्रको बैङ्कबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरू सहभागी हुन सक्ने सेनाले बताएको छ ।
सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूले पेन्सन पट्टा तथा सोको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति सहित २०७८ माघ २४ गतेदेखि २०७८ फाल्गुन ३० गतेसम्म आफूले पेन्सन प्राप्त गरिरहेको जिल्लामा तैनाथ नेपाली सेनाको युनिटमा गई नाम दर्ता गराउनु पर्नेछ । कामको सिलसिलामा अन्यत्र जिल्लामा रहनु भएका व्यक्तिहरूले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको सेनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्