मधेस प्रदेशका पत्रकारहरूको बिमा प्रदेश सरकारले गर्ने
जनकपुरधाम । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य बिमा हुन लागेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

मधेस प्रदेशको आम सञ्चार प्राधिकरणले आज जनकपुरधाममा आयोजना गरेको पत्रकारहरूको स्वास्थ्य बिमासम्बन्धी अन्तरक्रियामा आन्तरिक मन्त्री साहले मधेस प्रदेशमा कार्यरत श्रमजीवी पत्रकारहरूको स्वास्थ्यका साथै जीवन बिमा गर्नका लागि आमसञ्चार प्राधिकरणले काम अगाडी बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यसका लागि मन्त्रालयको साथ सधैँ रहने उहाँको भनाइ छ ।
उहाँले लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने बताउनुभयो ।
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले पत्रकारहरू धर्म, क्षेत्र तथा जातभन्दा माथि उठेर कलम चलाउने भएकाले पत्रकारको स्वास्थ्यको सुरक्षाका लागि स्वास्थ्य बिमा कार्यक्रम महत्त्वपूर्ण भएको बताउनुभयो ।
प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले स्वास्थ्य बिमाको माग ३० वर्ष अगाडी देखि नै हुँदै आए पनि मधेस प्रदेश सरकारले कार्यान्वयन गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो ।
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले प्रदेशमा मापदण्ड निर्माण गरेर स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सुझाव दिनुभयो ।

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले पत्रकारहरूको स्वास्थ्य बिमा गर्दा प्रदेश सरकारको आर्थिक क्षमता तथा कार्यक्रमलाई ध्यानमा राखेर गर्न आग्रह गर्नुभयो ।
मधेस प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, महासङ्घका मधेस प्रदेश अध्यक्ष राजेश कर्ण, वि एम खनाल सहितका वक्ताहरूले पत्रकारहरूको बिमा गर्ने नीतिको सराहना गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्