डडेलधुरामा ‘स्मार्ट लकडाउन’
डडेलधुरा । डडेलधुरामा सोमबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेलधुराले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ‘स्मार्ट लकडाउन’ गरिएको जनाएको छ ।
कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र सङ्क्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो ।
प्रशासनको आदेशअनुसार जिल्ला सञ्चालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, पटके हाट बजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म सञ्चालन नगर्न भनिएको छ ।
विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
यसैबिच, डडेलधुरामा यही माघ २० र २१ गते बालबालिकाहरूलाई अमेरिकन कम्पनीको ‘मोडर्ना’ खोप अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय डडेलधुराले ७ वटै पालिकाहरूमा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु गर्न लागेको हो ।
सरकारले विद्यालय जाने र विद्यालय नजाने सबै बालबालिकालाई लक्षित गरी माघ २० गते २१ गते खोपको पहिलो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्