चितवनमा ६ महिनामा ११८० नयाँ उद्योग दर्ता

चितवन । चालु आर्थिक बर्ष ०७८।७९ को ६ महिनामा चितवनमा १ हजार १ सय ८० वटा नयाँ उद्योग दर्ता भएका छन् ।
चालु आवको पुससम्म सबै शीर्षकमा गरी घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा उक्त सङ्ख्यामा उद्योग दर्ता भएका हुन् । कार्यालयमा उत्पादनमूलक उद्योग, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माणमूलक, पर्यटनमूलक र विज्ञान तथा सूचना प्रविधि शीर्षकमा उद्योगहरू दर्ता हुँदै आएका छन् । कार्यालयमा निजी र साझेदारी गरी लघु उद्यम, घरेलु उद्योग र साना उद्योग गरी तीन प्रकृतिका उद्योग हरू दर्ता हुने गर्दछ ।
दर्ता भएका उद्योगहरूमध्ये सबैभन्दा बढी दर्ता कृषि तथा वनजन्य उद्योगमा भएका छन् भने सबैभन्दा कम पर्यटनमूलक उद्योगमा भएका छन् । जसअनुसार सो अवधिमा कृषि तथा वनजन्य उद्योगमा ८०४ वटा उद्योग र पर्यटनमूलक उद्योगमा १२ वटा मात्र उद्योग दर्ता भएका छन् । यस्तै उत्पादनमूलक उद्योगमा १४६ वटा र सेवामूलक उद्योग २१८ वटा दर्ता भएका छन् भने अन्य शीर्षकमा कुनै पनि उद्योग दर्ता भएका छैनन् ।
कार्यालय प्रमुख यादवनाथ आचार्यले चितवन कृषिजन्य उद्योगमा अनुकूल स्थान र उर्वरभूमि भएकोले पनि यस शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको बताउनुभयो । ‘चितवन कृषिको लागि उर्वरभूमि हो, देशकै केन्द्रबिन्दु पनि हो आचार्यले भन्नुभयो, साथै कृषिमा सरकारले सहुलियत तथा अनुदान कार्यक्रम ल्याएकोले पनि यो शीर्षकमा उद्योग दर्ता गर्ने बढेका हुन् । ’कृषि तथा वनजन्य उद्योग जुनसुकै उद्यमीले पनि गर्न सकिने र पछिल्लो समय आधुनिक कृषि प्रणाली तर्फ युवाहरूको आकर्षण बढेकोले पनि यी शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको उहाँको भनाई छ ।
अघिल्ला वर्षमा पर्यटनमूलक उद्योगमा आकर्षण बढेपनि कोरोनाका कारण पछिल्लो समय यो शीर्षकमा कम उद्योग दर्ता हुने गरेको उहाँले बताउनुभयो । ‘पर्यटनमूलक उद्योगमा पर्यटनमूलक उद्योगहरू उपत्यका पर्यटन कार्यालयमा सहमति लिनुपर्ने असहज परिस्थिति पनि छ, उहाँले भन्नुभयो, यो शीर्षकमा पर्यटनमूलक र सेवामूलक अन्तर्गत वर्गीकरण पनि गरिएको छ ।’
डेढ करोड बढी राजश्व सङ्कलन
चालु आवको ६ महिनामा दर्ता भएका उद्योगहरूबाट कार्यालयले डेढ करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सबै शीर्षक गरी दर्ता भएका उद्योगहरूबाट १ करोड ५३ लाख ६९ हजार रुपैंया राजश्व सङ्कलन भएको छ ।
जसअनुसार उत्पादनमूलक उद्योगमा २१ लाख २९ हजार कृषि तथा वनजन्य उद्योगबाट १ करोड ३ लाख ५१ हजार, पर्यटनमूलक उद्योगबाट १ लाख ५३ हजार रुपैंया र सेवामूलक उद्योगबाट २७ लाख ३५ हजार रुपैंया सङ्कलन भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्