प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।
आर्थिक वर्ष २०७७।७८मा सम्पादन गरेका मुख्य मुख्य काम कारबाहीहरू संलग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम व्यवस्थापिका संसदमा पेश गर्नका लागि प्रधानमन्त्रीसमक्ष पेश गरेको आयोगले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको, आयोगको क्षमता विकास गर्नुपर्ने, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनाहरू संवेदनशील हुनुपर्ने बताउनु भएको छ । उक्त अवसरमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङले प्रतिवेदन पेश गर्नु अगाडि प्रतिवेदनका बारेमा संक्षिप्त विचार व्यक्त गर्दै संवैधानिक रुपमा व्यवस्था भएको महत्त्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागि परेको र वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७।७८ का अवधिका आयोगबाट भएका काम कारबाहीहरू समेटिएको जानकारी गराउनुका साथै आयोगका तर्फबाट राखिएका सुझावहरूका बारेमा पनि उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा आयोगका आयुक्तहरू श्री कमला ओली थापा, श्री रत्न प्रसाद मैनाली, नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास वैरागी र आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्