पानी घट्टको प्रयोग र संरक्षण गर्दै गुठिचौरका स्थानीयवासी
जुम्ला । बढ्दो आधुनिकतासँगै कुटानी पिसानीको प्रविधि आए पनि जुम्लाको गुठिचौर गाउँपालिकाका स्थानीयवासी अझै पानी घट्टको प्रयोग गर्दै आएका छन् ।
गाउँ गाउँमा मिल भए पनि गुठिचौर गाउँपालिका १ र २ नम्बर वडाका नागरिक अहिले पनि पानी घट्टकै प्रयोग गरिरहेका छन् ।

गाउँ घरमा पाइने परम्परागत घरेलु यन्त्र लोप हुन थाले पनि गुठिचौर गाउँपालिकाका १,२ नम्बरका गाउँ बस्तीमा भने अझै परम्परागत प्रविधिको प्रयोग हुँदै आएको छ । अहिले पनि जाँतो, हाते मुसल, ओखल, लोरा सिलौटा भेटिन्छन् ।
गुठिचौर बासीको घर आँगनमा कुट्ने पिस्ने आधुनिक प्रविधि प्रयोगमा आए पनि विगतदेखि हालसम्म आफु परम्परागत सामाग्री नै प्रयोग गर्ने गरेको गुठिचौर गाउँपालिका २ का दत्त बहादुर बोहोराले बताउनुभयो ।
गाउँघरको रहन–सहनमा परिवर्तन हुँदै आए पनि परम्परागत प्रविधि बचाउने प्रयास गरेको उहाँको भनाई छ ।
गाउँघरमा आफैँले उत्पादन गरेको तोरी पेल्ने दुनोमा हातले पेल्दै आएको गुठिचौर गाउँपालिका १ गडिगाँउकी मायादेवी बस्नेतले बताउनुभयो ।
बजारमा विभिन्न ब्रान्डका तेल पाइने भए पनि हातले दुनोमा पेलेर निकालेको तेल औषधी हुने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्